दैलेख । दैलेखको दुल्लु नगरपालिका–२ सेतीपानीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । सोमबार दिउँसो पानसैनाबाट दुल्लुतर्फ आउँदै गरेको सु.प्र.–०२–००१ ह १६५७ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा अटोमा सवार दुल्लु–२ का ७४ वर्षीय राम कामी गम्भीर घाइते भई उपचारको क्रममा दुल्लु अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा अटो चालक भैरवी गाउँपालिका–२ का २२ वर्षीय ज्ञानु सुनार र दुल्लु नगरपालिका–२ का ६५ वर्षीय गजबहादुर कामी घाइते भएका छन् । उनीहरू दुल्लु अस्पतालमै उपचाररत छन् ।
दुर्घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान अघि बढाएको थियो ।



















