रुपन्देही । ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने मूल नाराका साथ तिलोत्तमा नगरपालिका–१५, मधवलियामा ‘सकारात्मक सोच, सफल जीवन तालिम–२०८३’ सम्पन्न भएको छ । वडा अधिकार समिति, वडा बालमैत्री समिति तथा वडास्तरीय बालसञ्जालको संयुक्त आयोजनामा भएको तालिममा मुख्य प्रशिक्षक मुक्तिनाथ गैरेले सकारात्मक सोचको महत्त्व, जीवनमा सफल हुन अपनाउनुपर्ने व्यवहारिक उपाय तथा व्यक्तित्व विकासका विषयमा प्रशिक्षण दिएका थिए ।
कार्यक्रममा वडा बालसञ्जाल अध्यक्ष तथा नगर बालसञ्जाल सदस्य प्रेम नारायण पन्थीले बालबालिकाको उज्ज्वल भविष्य र क्षमता विकासका लागि वडा कार्यालयबाट निरन्तर लगानी भएको बताए । उनले आगामी दिनमा बालबालिकालाई लक्षित थप रचनात्मक, अनुशासित र प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी अतिथिहरूले बालबालिकाको सर्वाङ्गीण विकासका लागि यस्ता तालिम तथा सिर्जनात्मक गतिविधि महत्वपूर्ण हुने धारणा राखेका थिए । श्री सामुदायिक गुरुङ भवनमा भएको तालिममा करिब १५० जनाको सहभागिता रहेको थियो ।



















