Spread the love

बुटवल,४ असोज

संविधान दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीको आयोजना र विभिन्न संघ–संस्थाको सहकार्यमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । बुटवल देविनगर चौपारीमा आयोजित कार्यक्रममा बोल्दै राष्ट्रिय समाचार समिति का पूर्व अध्यक्ष डा. बालकृष्ण चापागाईंले संविधानले सुनिश्चित गरेका मौलिक हक तथा लोकतान्त्रिक मूल्य–मान्यताको व्यवहारिक कार्यान्वयनमा सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए ।

त्यस्तै, उच्च अदालत बुटवल बारका निवर्तमान अध्यक्ष गोविन्द प्रसाद मरासिनीले संविधान कानुनी दस्तावेज मात्र नभई नागरिकका अधिकार र राज्यका दायित्वलाई सुनिश्चित गर्ने आधार भएको उल्लेख गरे । उनले संविधानको प्रभावकारी कार्यान्वयनका लागि कानुनी शासन र नागरिक सचेतना आवश्यक रहेको बताए ।

नविन औद्योगिक कदरबहादुर रिता विद्यालयका प्राचार्य प्रेमबहादुर बस्नेतले संविधान दिवस हिजोका लोकतान्त्रिक आन्दोलन र त्यसै अनुरूपको संविधान बनाउने दिनहरुको स्मरण भएको र भोलिको लागि भ्रस्टाचार मुक्त र बिधिको सुशासनको लागि प्रेरणा लिने अवसर भएको वताए ।

रुपन्देही व्यापार संघका वरिष्ठ उपाध्यक्ष दया भण्डारीले राजनीतिक स्थायित्व, सुशासन र आर्थिक समृद्धि संविधानको प्रभावकारी कार्यान्वयनसँग जोडिएको धारणा राख्नुभयो। मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले संविधान दिवसलाई केवल औपचारिक दिवसका रूपमा नभई संविधानले प्रत्याभूत गरेका अधिकार, शान्ति, सद्भाव, सहिष्णुता र मानव अधिकारप्रतिको प्रतिबद्धता पुनःस्मरण गर्ने अवसरका रूपमा लिनुपर्ने बताए । उनले संविधानको भावना र मर्मअनुसार नागरिक अधिकारको संरक्षण तथा लोकतान्त्रिक संस्कारको विकासमा सामाजिक संघ–संस्थाले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा शान्ति समाज रुपन्देहीका पदाधिकारी,अभियान्ता, लियो क्लव, जेन्जि अभियान्ता लगायतका सहभागीहरूले दीप प्रज्वलन गर्दै संविधानको संरक्षण, मानव अधिकारको सम्मान, शान्ति, लोकतन्त्र र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा नवयुवा, पत्रकार, मानव अधिकार अभियान्ता, विद्यार्थी तथा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

 

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्