भैरहवा, असोज ३ । रुपन्देही जिल्ला तेक्वान्दो संघले कालो पेटी तथा दोस्रो डान ग्रेडिङ सम्पन्न गरेको छ । शनिबार भैरहवास्थित बोधि कटेजमा आयोजित कार्यक्रममा कालो पेटीका लागि ३० जना तथा दोस्रो डानका लागि १८ जना खेलाडी सहभागी रहेको रुपन्देही जिल्ला ग्रेडिङ संयोजक राजकुमार पाण्डेयले बताए ।
कार्यक्रममा रूपन्देही जिल्ला खेलकुद विकास समिति अध्यक्ष कोसिसबहादुर खड्का, रूपन्देही तेक्वान्दो संघका अध्यक्ष दीपेन्द्र बुढाप्रिति, रुपन्देही चेम्बर अफ कमर्सका अध्यक्ष सचिन रोक्का, रुपन्देही चेम्बर अफ कमर्सका पुर्ब अध्यक्ष नारायण भण्डारी तथा रास्वपा सिद्धार्थ नगर सभापति नरेश अधिकारीले औपचारिक कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै खेल विकासमा सरकार र खेल क्षेत्रको समन्वय जरुरी रहने बताए ।
कार्यक्रममा रूपन्देही जिल्ला खेलकुद विकास समिति अध्यक्ष कोसिसबहादुर खड्काले तेक्वान्दो खेलको विकाससँगै खेलाडीको क्षमता अभिवृद्धि र ग्रेडिङ प्रणालीले खेलाडीलाई थप जिम्मेवार तथा अनुशासित बनाउन महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे । खेलाडीहरूको तेक्वान्दोसम्बन्धी सीप, दक्षता तथा अनुशासनको मूल्यांकन ग्रेडिङमा गरिने उनले बताए ।



















