बुटवल,९ मंसिर । विद्यार्थीमा अन्तर्निहित बौद्धिक क्षमता र प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले बुटवलस्थित न्यू होराइजन माध्यमिक विद्यालयले ३३ औँ प्रदेश स्तरीय हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको छ । विद्यालयमा बुधबार पत्रकार सम्मेलन गरि प्रतियोगिताको पहिलो चरण लुम्बिनी प्रदेशका चार स्थानमा सञ्चालन गरिने कार्यक्रमका संयोजक प्रकाश पन्तले बताए ।

छनोट चरणबाट उत्कृष्ट हुने ८ टिम बिचमा बुटवलमा अन्तिम प्रतिस्पर्धा गराइने उनले बताए ।प्रतियोगिताको प्रथम चरण मंसिर ११ गते शुक्रबार दाङको लमही नगरपालिका सभाहल, पाल्पास्थित न्यू होराइजन माध्यमिक विद्यालय, काजीपौवा, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को उद्योग वाणिज्य संघको सभाहल र रुपन्देहीस्थित न्यू होराइजन माध्यमिक विद्यालय, देवीनगरमा एकैसाथ सञ्चालन हुनेछ ।

प्रत्येक केन्द्रको हिट राउन्डबाट ६/६ वटा विद्यालय सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलमा प्रत्येक केन्द्रबाट प्रथम, द्वितीय र तृतीय हुने विद्यालयले क्रमशः ९ हजार, ६ हजार र ४ हजार ५०० रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने प्रतियोगिताका संयोजक प्रकाश पन्तले जानकारी दिए । चारवटै केन्द्रको सेमिफाइनलबाट प्रथम र द्वितीय हुने गरी आठवटा विद्यालय फाइनल राउन्डका लागि छनोट हुनेछन् । फाइनल राउन्ड मंसिर १९ गते शनिबार न्यू होराइजन माध्यमिक विद्यालय, बुटवल देवीनगरमा आयोजना हुनेछ ।

फाइनल प्रतियोगितामा प्रथम हुने विद्यालयले ४० हजार, द्वितीयले २५ हजार र तृतीयले २० हजार रुपैयाँ नगद पुरस्कारसहित सिल्ड, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । विभिन्न केन्द्रबाट फाइनल चरणमा सहभागी हुन आउने विद्यार्थीलाई यातायात खर्चसमेत उपलब्ध गराइने विद्यालयले जनाएको छ । वि.सं. २०५० सालमा जिल्ला स्तरीय प्रतियोगिताका रूपमा सुरु गरिएको यो कार्यक्रम अञ्चल स्तरीय हुँदै हाल प्रदेश स्तरीय प्रतियोगिताका रूपमा सञ्चालन हुँदै आएको विद्यालयका निवर्तमान प्राचार्य लोकनाथ उपाध्यायले बताए ।

विद्यालयले पठन संस्कृतिको विकास तथा समालोचनात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले मंसिर २० गते आइतबार अन्तरमाध्यमिक जिल्ला स्तरीय पुस्तक समीक्षा कार्यक्रम आयोजना गर्ने भएको छ । त्यस्तै, सामाजिक सञ्जालको बढ्दो प्रयोगलाई निरुत्साहित गर्दै विद्यार्थीको शारीरिक तथा मानसिक तन्दुरुस्ती अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयको स्थापना दिवसका अवसरमा पुस ४ गते शनिबार बिहान ७ बजे ‘साइक्लिङ’ कार्यक्रम आयोजना गरिने विद्यालयका प्रकाश खनालले जानकारी दिए । कार्यक्रममा कक्षा ८ देखि १२ सम्मका विद्यार्थी सहभागी हुनेछन् ।

 

">
Bajaj Grand Exchange Mela