काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ केजी ३४८ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित दुई चिनियाँ महिला पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका अनुसार मंसिर ८ गते राति करिब ११ बजेर १५ मिनेटको समयमा क्याथे प्यासिफिक एयरलाइन्समार्फत हङकङबाट काठमाडौं आएका दुई महिलालाई शंकास्पद गतिविधिका आधारमा जाँच गर्दा उक्त पदार्थ फेला परेको हो ।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङ स्थायी ठेगाना भएका ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन्।
प्रहरीका अनुसार लिन लिनाले मलद्वार तथा भित्री वस्त्रमा प्लास्टिकले बेरेर लुकाइ ल्याएको पाँच थान सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थ बरामद गरिएको छ। उक्त पदार्थको तौल प्लास्टिकसहित १ हजार ३४० ग्राम रहेको छ।
त्यस्तै, लिन सिनपिङले पनि सोही तरिकाले लुकाएर ल्याएको तीन थान पहेँलो अर्धठोस पदार्थ बरामद गरिएको छ। त्यसको तौल प्लास्टिकसहित १ हजार ८ ग्राम रहेको प्रहरीले जनाएको छ।
दुवै महिलाबाट गरी कुल आठ थान पदार्थ बरामद भएको र त्यसको तौल २ केजी ३४८ ग्राम रहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । भन्सार क्षेत्र पार गरी बाहिर निस्कने क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। बरामद पदार्थसहित दुवै महिलालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जनाएको छ ।





















