बुटवल,९ मंसिर ।
रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यका लागि व्यक्ति, परिवार र समुदायको सोच तथा व्यवहारमा परिवर्तन आवश्यक रहेको बताएका छन् । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान (मंसिर ९ देखि २४ गतेसम्म) का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले कानुनी व्यवस्था र संस्थागत प्रयाससँगै सामाजिक चेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका हुन् ।
उनले लैङ्गिक हिंसालाई मानव अधिकारको गम्भीर उल्लंघन, सामाजिक न्यायको बाधक र समतामूलक समाज निर्माणको चुनौतीका रूपमा उल्लेख गरेका छन् । महिला, बालबालिका तथा पछाडि पारिएका समुदायमाथि हुने हिंसा, विभेद, शोषण र दुव्र्यवहार अन्त्य गर्नु सबैको साझा दायित्व भएको उनको भनाइ छ । मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकारले महिला सशक्तीकरण, आर्थिक आत्मनिर्भरता, सीप विकास, हिंसा प्रभावितको संरक्षण, न्यायमा पहुँच र पुनःस्थापनाका कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए ।
उनले १६ दिने अभियानलाई अभियान अवधिमा मात्र सीमित नराखी वर्षभरि नै लैङ्गिक हिंसाविरुद्ध जागरण र सामाजिक उत्तरदायित्वको अभियानका रूपमा अघि बढाउन सबै पक्षलाई आह्वान गरेका छन् । हिंसामुक्त, समानतामूलक र सुरक्षित समाज निर्माणमा प्रदेश सरकार प्रतिबद्ध रहेको उनले सन्देशमा उल्लेख गरेका छन् ।
























