काठमाडौं, ८ मंसिर। पूर्वी नेपालको उत्तरी सीमा क्षेत्रमा सोमबार बिहान ५.६ म्याग्निच्युडको भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् राजेश शर्माका अनुसार ताप्लेजुङको ओलाङचुङगोलानजिकै भूकम्पको केन्द्रविन्दु रहेको थियो। उक्त क्षेत्र चीनको तिब्बतसँग जोडिएको छ।
भूकम्पको धक्का कोशी प्रदेशका विभिन्न जिल्लामा समेत महसुस गरिएको छ। बिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीयवासी त्रसित भएका थिए। भूकम्पबाट मानवीय तथा भौतिक क्षति भए–नभएको विवरण भने प्राप्त भइसकेको छैन।
यसैबीच, अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)ले भूकम्पको केन्द्रविन्दु भारतको सिक्किम राज्यको मंगन क्षेत्रबाट करिब ६७ किलोमिटर दूरीमा रहेको जनाएको छ। यूएसजीएसका अनुसार भूकम्प १० किलोमिटर गहिराइमा गएको थियो। भूकम्पको केन्द्रविन्दु र गहिराइबारे नेपाली र अमेरिकी निकायले फरक विवरण सार्वजनिक गरेका छन्।





















