काठमाडौं, ५ मंसिर ।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणअघि प्रमुख प्रतिपक्षी दल, अन्य राजनीतिक दल र विषयविज्ञसँग परामर्श नगरेको भन्दै नेपाली कांग्रेसले सरकारप्रति असन्तुष्टि जनाएको छ । राष्ट्रिय महत्त्वका विषयमा विदेश भ्रमण गर्नुअघि साझा धारणा निर्माण गर्ने लोकतान्त्रिक परम्परालाई सरकारले बेवास्ता गरेको कांग्रेसको आरोप छ ।
कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक होस् भन्ने शुभकामना दिएका छन् । उनले भ्रमणबाट नेपाल–भारत सम्बन्ध थप प्रगाढ हुनुका साथै नेपालको राष्ट्रिय हित प्रवद्र्धन हुनुपर्ने बताएका छन् ।
शर्माका अनुसार कांग्रेसले भारतसँगको द्विपक्षीय सम्बन्ध र सहकार्यका सम्भावित विषयमा सरकारलाई रचनात्मक सुझाव दिने तयारी गरेको थियो । यसका लागि पार्टीले गत बुधबार विषयविज्ञहरूको सहभागितामा विशेष आन्तरिक विमर्शसमेत गरेको थियो ।
जलवायु परिवर्तन, हवाई सम्पर्क, पर्यटन, व्यापार, ऊर्जा, खेलकुद, उद्यमशीलता, सीमा व्यवस्थापन, सीमावर्ती क्षेत्रका नागरिकका सरोकार र भारतमा कार्यरत नेपाली श्रमिकका समस्या लगायत विषयमा छलफल गरिएको उनले बताएका छन् ।
‘मित्रराष्ट्रहरूको महत्त्वपूर्ण भ्रमणअघि राष्ट्रिय हितका विषयमा साझा धारणा निर्माण गर्न प्रमुख प्रतिपक्षी लगायत राजनीतिक दलसँग परामर्श गर्ने हाम्रो स्थापित लोकतान्त्रिक परम्परा हो । यस्तो सकारात्मक परम्पराको निरन्तरता वर्तमान सरकारबाट पनि अपेक्षित थियो,’ शर्माले विज्ञप्तिमा भनेका छन् ।
तर सरकारले प्रमुख प्रतिपक्ष, अन्य दल र विषयविज्ञसँग परामर्श गर्न आवश्यक नठानेको उनको आरोप छ । सरकारले सुझाव नमागेपछि कांग्रेसले पनि औपचारिक सुझाव आफैँ अघि सारिरहन उचित नठानेको उनले उल्लेख गरेका छन् ।
प्रधानमन्त्री कुनै एक दल वा सरकारको मात्र नभई सम्पूर्ण राष्ट्रको प्रतिनिधित्व गर्दै भारत भ्रमणमा जान लागेको भन्दै शर्माले राष्ट्रिय हितका विषयमा व्यापक परामर्श र साझा समझदारी आवश्यक रहेको बताएका छन् । यस्तो समझदारीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अडान बलियो बनाउने उनको भनाइ छ ।





















