चितवन,५ मंसिर ।
नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडकमा सवारी आवागमन पूर्ण रूपमा बन्द रहने जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै सडकखण्डको घोप्टेभीरमा लगातार सुक्खा पहिरो खस्दा यातायात प्रभावित हुनुका साथै मानवीय क्षतिसमेत भएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न सडक बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माद्वारा जारी सूचनामा २०८३ मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक बन्द गरी जोखिमयुक्त ढुंगा तथा माटो हटाउने काम गरिने उल्लेख छ ।





















