बुटवल, मंसिर । बुटवल उपमहानगरपालिका–१० कालिकानगरस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका विद्यार्थी शिशिर मल्लले चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस तहको एकीकृत प्रवेश परीक्षामा देशभरबाट उत्कृष्ट १० औँ स्थान हासिल गरेका छन्।
विद्यालयबाट एसईई परीक्षामा ४ जीपीए प्राप्त गरेका मल्लले कक्षा ११ र १२ को अध्ययन पनि कालिका मानवज्ञान माविमै विज्ञान संकायबाट पूरा गरेका थिए। उनले एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट नतिजा हासिल गर्दै विद्यालयको शैक्षिक उपलब्धिलाई थप उचाइ दिएका छन्।
शिशिरसँगै विद्यालयका अन्य १७ जना विद्यार्थीले पनि एमबीबीएस प्रवेश परीक्षामा सफलता हासिल गरेका छन्। सार्वजनिक नतिजाअनुसार निश्चल जीसीले ३५औँ र आयुष पाण्डेले ३९औँ स्थान प्राप्त गरेका छन्।
त्यसैगरी सम्राट मरासिनीले ६९औँ, अजयकुमार चौधरीले ९१औँ, आकाश मिश्रले १५६औँ, आदित्य भण्डारीले १६१औँ, ईशान ज्ञवालीले १८६औँ र गणेश पन्थीले २०८औँ स्थान हासिल गरेका छन्।
त्यस्तै बिपिशा अर्यालले २२५औँ, शिवनाथ यादवले २७८औँ, दीपक केसीले ३०९औँ, सम्पदा गौतमले ३३८औँ, बालकृष्ण कोहारले ३५४औँ, अर्जुन रिजालले ३५६औँ, राजीव अग्रहरीले ३७०औँ, इन्द्रबहादुर भुजेल मगरले ३८१औँ र अंकित तिवारीले ३९२औँ स्थान प्राप्त गरेका छन्।
विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले सार्वजनिक नतिजाअनुसार विद्यालयका १८ जना विद्यार्थी एमबीबीएस प्रवेश परीक्षामा सफल भएको जानकारी दिए। अन्य क्लस्टरका विद्यार्थीसमेत जोड्दा सफल हुने विद्यार्थीको सङ्ख्या ३५ भन्दा बढी पुग्ने उनले बताए।
विद्यालयका विज्ञान संकाय संयोजक कृष्ण अधिकारीले योजनाबद्ध पठनपाठन, नियमित मूल्याङ्कन र अतिरिक्त तयारी कक्षाले विद्यार्थीको सफलतामा सहयोग पु¥याएको बताए। उनका अनुसार कक्षा ११ र १२ देखि नै विद्यार्थीलाई चिकित्सा तथा इन्जिनियरिङ प्रवेश परीक्षाका लागि आवश्यक आधार तयार गराउने गरिएको छ। एकैपटक १८ जना विद्यार्थीले देशभरको प्रतिस्पर्धामा ४०० भित्र स्थान हासिल गर्नु विज्ञान संकाय र विद्यालयका लागि महत्त्वपूर्ण उपलब्धि भएको अधिकारीले बताए।
प्रधानाध्यापक ज्ञवालीले यस नतिजाले सामुदायिक विद्यालयले पनि गुणस्तरीय र प्रतिस्पर्धी शिक्षा प्रदान गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताए। विद्यार्थीको निरन्तर मेहनत, अभिभावकको विश्वास र शिक्षकको समर्पणका कारण विद्यालयले गौरवपूर्ण सफलता हासिल गरेको उनको भनाइ छ।





















