हाम्रो समाजमा औषधि प्रयोगसम्बन्धी एउटा गलत प्रवृत्ति दिनप्रतिदिन बढ्दै गएको छ। सामान्य ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, शरीर दुख्ने वा अन्य स्वास्थ्य समस्या देखिनासाथ चिकित्सकको परामर्श लिनुभन्दा सिधै औषधि पसल पुगेर ‘दुई खुराक दिनुस् न, चट्टै निको हुने औषधि दिनुस्’ भन्ने प्रवृत्ति सामान्यजस्तै बन्दै गएको छ। कतिपय अवस्थामा बिरामीको स्वास्थ्य अवस्था, रोगको वास्तविक कारण र औषधिको उपयुक्ततासमेत नबुझी छिटो निको पार्ने नाममा विभिन्न औषधि दिने र लिने अभ्यास भइरहेको छ। तत्काल राहत खोज्ने यही सोचले भविष्यमा गम्भीर स्वास्थ्य संकट निम्त्याउन सक्छ।
अहिले औषधि प्रयोगको प्रवृत्ति अझ फरक र चुनौतीपूर्ण बन्दै गएको छ। सामाजिक सञ्जाल, इन्टरनेट र ChatGPT जस्ता कृत्रिम बौद्धिकता (AI) माध्यमबाट केही जानकारी प्राप्त गरेकै भरमा आफैँलाई रोग लागेको निष्कर्ष निकाल्ने, औषधिको नाम खोज्ने र आफैँ औषधि खरिद गरी सेवन गर्ने क्रम बढ्दो छ। सूचना र प्रविधिको प्रयोग आफैँमा सकारात्मक हो, तर अपूरो जानकारीका आधारमा रोग पहिचान गरी औषधि सेवन गर्नु सुरक्षित अभ्यास होइन।
अझ हाम्रो घरपरिवार र समुदायमा अर्को गलत अभ्यास पनि व्यापक छ। ‘आमाले खाएको औषधि बाँकी छ, त्यही खाऊ’, ‘दाइले खाएको औषधिले निको भएको थियो’, ‘भाउजूले खाएको औषधि मलाई पनि मिल्छ’ भन्ने सोचले अरूको बाँकी औषधि प्रयोग गर्ने गरिन्छ। तर एउटै लक्षण देखिए पनि रोगको कारण, बिरामीको उमेर, स्वास्थ्य अवस्था, औषधिको मात्रा र उपचारको आवश्यकता फरक हुन सक्छ। त्यसैले एक व्यक्तिलाई उपयुक्त भएको औषधि अर्को व्यक्तिका लागि पनि उपयुक्त हुन्छ भन्ने हुँदैन।
एन्टिमाइक्रोबियल प्रतिरोध (AMR): बढ्दो विश्वव्यापी स्वास्थ्य चुनौती
एन्टिमाइक्रोबियल प्रतिरोध (Antimicrobial Resistance–AMR) अहिले विश्वकै प्रमुख जनस्वास्थ्य चुनौतीमध्ये एक हो। सरल भाषामा भन्नुपर्दा, ब्याक्टेरिया, भाइरस, फङ्गस तथा परजीवीजस्ता सूक्ष्मजीवहरूले आफूविरुद्ध प्रयोग गरिने औषधिको प्रभावलाई प्रतिरोध गर्न सक्ने क्षमता विकास गर्नु नै एन्टिमाइक्रोबियल प्रतिरोध हो। यसका कारण पहिले प्रभावकारी रहेका औषधिले संक्रमण नियन्त्रण गर्न नसक्ने अवस्था आउन सक्छ।
विशेषगरी एन्टिबायोटिकको अनावश्यक तथा गलत प्रयोगले ब्याक्टेरियामा प्रतिरोध क्षमता विकास हुने जोखिम बढाउँछ। जथाभावी औषधि सेवन गर्ने, अरूको औषधि प्रयोग गर्ने, चिकित्सकीय सल्लाहबिना औषधिको मात्रा परिवर्तन गर्ने तथा उपचारलाई आफ्नै निर्णयमा रोक्ने जस्ता व्यवहारले समस्या थप जटिल बनाउन सक्छन्।
सामान्य रुघाखोकी तथा फ्लुजस्ता भाइरल संक्रमणमा एन्टिबायोटिकले काम गर्दैन। तर सामान्य जानकारीको अभावमा यस्ता समस्यामा समेत एन्टिबायोटिक प्रयोग गर्ने प्रवृत्ति छ। यसको परिणाम तत्काल मात्र होइन, भविष्यको उपचार प्रणालीमा समेत पर्न सक्छ। सामान्य संक्रमणको उपचार कठिन हुने, महँगो औषधि आवश्यक पर्ने, अस्पताल बसाइ लम्बिने र गम्भीर अवस्थामा बिरामीको ज्यानसमेत जोखिममा पर्ने अवस्था आउन सक्छ।
औषधि पसलको भूमिका र जिम्मेवारी पनि उत्तिकै महत्वपूर्ण
नेपालमा धेरै मानिसका लागि नजिकको औषधि पसल स्वास्थ्य सेवाको पहिलो सम्पर्कस्थल बन्ने गरेको छ। यसले औषधि व्यवसायी तथा फार्मेसीमा कार्यरत जनशक्तिको जिम्मेवारी अझ बढाएको छ। बिरामीले आफ्नो समस्या सुनाउँदैमा अनुमानका आधारमा औषधि दिने, छिटो निको पार्ने नाममा आवश्यकताभन्दा बढी औषधि उपलब्ध गराउने वा चिकित्सकीय सल्लाह आवश्यक पर्ने औषधि जथाभावी वितरण गर्ने प्रवृत्ति निरुत्साहित हुनुपर्छ।
औषधि बिक्री गर्नु मात्र फार्मेसी सेवाको उद्देश्य होइन। बिरामीलाई सही औषधि, सही प्रयोग विधि, आवश्यक सावधानी र सम्भावित प्रतिकूल असरबारे जानकारी दिनु पनि औषधि सेवाको महत्वपूर्ण हिस्सा हो। औषधि पसल दर्ता भएको छ कि छैन, औषधि वितरणमा संलग्न व्यक्ति योग्य र आधिकारिक छ कि छैन तथा सम्बन्धित कानुनी मापदण्ड पालना भएको छ कि छैन भन्ने विषयमा पनि विशेष ध्यान दिन आवश्यक छ।
औषधि वितरण तथा औषधिसम्बन्धी परामर्शको काम सम्बन्धित कानुन र आफ्नो व्यावसायिक कार्यक्षेत्रअनुसार योग्य तथा आधिकारिक फार्मासिस्ट, सहायक फार्मासिस्ट वा अन्य अधिकृत औषधि वितरण जनशक्तिबाट हुनुपर्छ। विशेषगरी एन्टिबायोटिकजस्ता चिकित्सकीय सल्लाह र प्रिस्क्रिप्सन आवश्यक पर्ने औषधि सम्बन्धित चिकित्सकको प्रेस्क्रिप्सनअनुसार मात्र वितरण गरिनुपर्छ। यसमा फार्मासिस्ट र सहायक फार्मासिस्टको व्यावसायिक भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ।
औषधि लिँदा हतार होइन, सही जानकारी आवश्यक
हामीले औषधि खरिद गर्दा र सेवन गर्दा केही आधारभूत कुरामा विशेष ध्यान दिनुपर्छ। औषधि लिने क्रममा हतार गर्नु हुँदैन। औषधिको नाम, प्रयोग गर्ने उद्देश्य, मात्रा, सेवन गर्ने समय, उपचार अवधि, खानासँग वा खानापछि कसरी प्रयोग गर्ने तथा अन्य औषधिसँग यसको सम्भावित अन्तरक्रियाबारे बुझ्नुपर्छ।
त्यसैगरी, औषधिबाट हुन सक्ने साइड इफेक्ट अर्थात् प्रतिकूल असरबारे औषधि वितरण गर्ने योग्य फार्मासिस्ट वा स्वास्थ्यकर्मीसँग स्पष्ट जानकारी लिनुपर्छ। औषधि सेवनपछि असामान्य लक्षण देखिएमा आफैँले औषधि थप्ने, घटाउने वा परिवर्तन गर्ने होइन, सम्बन्धित स्वास्थ्यकर्मीसँग परामर्श गर्नुपर्छ। गम्भीर एलर्जी वा सास फेर्न कठिनाइ हुनेजस्ता लक्षण देखिएमा तत्काल स्वास्थ्य सेवा लिनुपर्छ।
औषधि प्रयोग गर्दा आफ्नो स्वास्थ्य अवस्था, पहिले देखिएको एलर्जी, गर्भावस्था, दीर्घरोग तथा अन्य सेवन गरिरहेका औषधिबारे समेत जानकारी दिनुपर्छ। औषधि प्रयोगसम्बन्धी शंका भएमा अनुमानका भरमा निर्णय गर्नु हुँदैन।
नियमनकारी निकायको अनुगमन प्रभावकारी हुनुपर्छ
औषधिको सुरक्षित प्रयोग सुनिश्चित गर्न नागरिक र औषधि व्यवसायी मात्र होइन, नियमनकारी निकायको भूमिका पनि उत्तिकै महत्वपूर्ण छ। औषधि पसलको नियमित अनुगमन, दर्ता तथा नवीकरणको अवस्था, योग्य जनशक्तिको उपलब्धता, औषधिको भण्डारण, म्याद, प्रिस्क्रिप्सनअनुसार औषधि वितरण र औषधि बिक्रीसम्बन्धी कानुनी मापदण्डको पालना भए नभएको विषयमा प्रभावकारी निगरानी हुनुपर्छ।
व्यवहारमा अनुगमनभन्दा कागजी प्रक्रिया र प्रशासनिक झन्झटलाई बढी प्राथमिकता दिइएको भन्ने गुनासो पनि सुनिन्छ। नियमनको उद्देश्य व्यवसायीलाई अनावश्यक दुःख दिनु होइन, औषधि व्यवसायलाई व्यवस्थित, सुरक्षित र जिम्मेवार बनाउनु हो। त्यसैले अनुगमन निष्पक्ष, नियमित, पारदर्शी र परिणाममुखी हुनुपर्छ। नियम उल्लङ्घन गर्नेलाई कारबाही र राम्रो अभ्यास गर्नेलाई प्रोत्साहन गर्ने प्रणाली विकास गर्न आवश्यक छ।
यसका साथै अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमण रोकथाम, सरसफाइ, हातको स्वच्छता र औषधि प्रतिरोधी जीवाणुको फैलावट नियन्त्रणमा विशेष ध्यान दिनुपर्छ। AMR नियन्त्रणका लागि मानव स्वास्थ्य, पशु स्वास्थ्य, कृषि तथा वातावरणलाई समेत समेट्ने ‘वन हेल्थ’ अवधारणाअनुसार समन्वयात्मक प्रयास आवश्यक छ।
अब जिम्मेवार औषधि प्रयोगको संस्कृति विकास गरौँ
औषधिको सही प्रयोग सुनिश्चित गर्न प्रत्येक नागरिक सचेत हुन आवश्यक छ। बिरामी हुँदा सम्भव भएसम्म पहिले योग्य चिकित्सकसँग स्वास्थ्य परीक्षण तथा परामर्श गरौँ। चिकित्सकको सल्लाह र प्रेस्क्रिप्सनअनुसार औषधि प्रयोग गरौँ। औषधि खरिद गर्दा दर्ता भएको फार्मेसीबाट सेवा लिऔँ र योग्य तथा आधिकारिक औषधि वितरण जनशक्तिसँग आवश्यक जानकारी लिऔँ।
सामाजिक सञ्जाल र AI लाई स्वास्थ्यसम्बन्धी जानकारी प्राप्त गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ, तर त्यसकै आधारमा आफैँ रोग पहिचान गरी औषधि सेवन नगरौँ। अरूले खाएको वा घरमा बाँकी रहेको औषधि आफूले प्रयोग नगरौँ। एन्टिबायोटिक आवश्यक पर्दा मात्र चिकित्सकको सल्लाहअनुसार प्रयोग गरौँ र तोकिएको मात्रा तथा अवधि पालना गरौँ। औषधि प्रयोग गर्दा समस्या वा प्रतिकूल असर देखिएमा स्वास्थ्यकर्मीसँग परामर्श गरौँ।
अन्ततः औषधि सामान्य व्यापारिक वस्तु होइन, यो मानव जीवन र स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषय हो। औषधिको उपलब्धता मात्र पर्याप्त छैन, यसको सही छनोट, सुरक्षित वितरण र विवेकपूर्ण प्रयोग पनि उत्तिकै आवश्यक छ। नागरिकको सचेतना, चिकित्सकको जिम्मेवार प्रेस्क्रिप्सन, फार्मासिस्ट तथा सहायक फार्मासिस्टको व्यावसायिक भूमिका र नियमनकारी निकायको प्रभावकारी अनुगमन एकसाथ अघि बढ्न सके मात्र AMR को जोखिम न्यूनीकरण गर्न सकिन्छ।
आज दुई खुराक खाएर चट्टै निको हुने लोभमा औषधिको दुरुपयोग नगरौँ। भोलि आवश्यक पर्दा त्यही औषधिले काम नगर्ने अवस्था आउन नदिऔँ।
औषधि आफैँ नछानौँ, अरूको औषधि प्रयोग नगरौँ। चिकित्सकको सल्लाहमा, योग्य फार्मेसी जनशक्तिको परामर्शसहित औषधि प्रयोग गरौँ।
औषधिको सही प्रयोग आजको जिम्मेवारी हो, प्रभावकारिता जोगाउनु भोलिको पुस्ताप्रतिको हाम्रो दायित्व हो।
– किरण ढकाल
निवर्तमान अध्यक्ष, नेपाल फार्मेसी संघ
केन्द्रीय कमिटी





















