काठमाडौं । कार्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज देशभरका हिन्दू धर्मावलम्बीले श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन्। यस अवसरमा तुलसीको पूजा, तुलसी विवाह तथा भगवान् विष्णुको विशेष आराधना गरिँदैछ।
धार्मिक मान्यताअनुसार आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आजका दिन जागृत हुने विश्वास गरिन्छ। त्यसैले यस एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ।
हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिलाई चतुर्मास भनिन्छ। यस अवधिमा भगवान् विष्णुका भक्तहरूले व्रत बस्ने, तुलसीको पूजा गर्ने र धार्मिक अनुष्ठान गर्ने परम्परा छ। भगवान् विष्णु शयन अवस्थामा रहने धार्मिक विश्वासका कारण यस अवधिमा विवाह, व्रतबन्धलगायत माङ्गलिक कार्य नगर्ने चलन छ।
हरिबोधिनी एकादशीका दिन घरघरमा रोपिएका तुलसीका मठलाई गाईको गोबर र रातो माटोले पोतेर फूलमालाले सजाइन्छ। त्यसपछि तुलसीको मठ नजिकै भगवान् विष्णुको प्रतीकका रूपमा निगालो गाडेर विधिपूर्वक तुलसी विवाह गरिन्छ। हिन्दू धार्मिक मान्यतामा तुलसीलाई भगवान् विष्णुको प्रिय मानिने भएकाले तुलसी र विष्णुको प्रतीकात्मक विवाह गर्ने परम्परा रहिआएको हो। कार्तिक महिनाभर देवीदेवताहरू तुलसीमा निवास गर्ने धार्मिक विश्वास छ।
धार्मिक ग्रन्थहरूमा तुलसीको महिमा विशेष रूपमा वर्णन गरिएको छ। कार्तिक शुक्ल पक्षमा तुलसीको माला लगाउने तथा भगवान् विष्णुलाई तुलसीपत्र अर्पण गर्ने भक्तजनको मनोकामना पूरा हुने धार्मिक विश्वास छ। गरुडपुराणमा एउटा तुलसीपत्र भगवान् विष्णुलाई अर्पण गर्दा १० हजार गाई दान गरे बराबरको पुण्य प्राप्त हुने उल्लेख गरिएको छ।
हरिबोधिनी एकादशीका अवसरमा भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर नगर परिक्रमा गराउने परम्परा पनि छ। राति शंख, घण्ट र ढोल बजाउँदै भगवान् विष्णुलाई जगाउने धार्मिक चलन रहेको छ।
यस अवसरमा काठमाडौं उपत्यकाका चार नारायण मन्दिरमा विशेष मेला लाग्ने परम्परा छ। भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण र इचँगुनारायण तथा ललितपुरको विशङ्खुनारायण मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । यी चार नारायण मन्दिरमा पुग्न नसक्ने भक्तजनले काठमाडौंको बूढानीलकण्ठस्थित नारायणस्थानमा दर्शन गर्दा चार नारायणको दर्शन गरेसरह पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।





















