काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधिका लागि लगातार तेस्रो पटक फाइनल पुगेको सुदूरपश्चिम रोयल्स र साविक विजेता लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुने भएको छ । बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई २ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान पक्का गरेको हो ।
यससँगै सुदूरपश्चिम लगातार तेस्रो संस्करणमा एनपीएलको फाइनल पुग्ने टोली बनेको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले डाविड मलानको अविजित ७१ रनको मद्दतमा निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो । जवाफमा १३४ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा ८ विकेट गुमाएर जित हासिल ग¥यो ।
सुदूरपश्चिमको जितका नायक श्रीलंकाली खेलाडी थरिन्दु रत्नायके बने । उनले ब्याटिङमा अविजित ५३ रन बनाउनुका साथै बलिङमा दुई विकेट लिए । ४२ बलको सामना गरेका उनले ७ चौका प्रहार गरे । रत्नायकेले नै विजयी चौका प्रहार गर्दै टोलीलाई फाइनल पु¥याए ।
सुरुवातमा केही आक्रामक देखिएको सुदूरपश्चिमले नियमित अन्तरालमा विकेट गुमाउँदा खेल रोमाञ्चक बनेको थियो । ओपनर विनोद भण्डारीले १३ बलमा २३ रन बनाए पनि अन्य ब्याटरले ठूलो योगदान दिन सकेनन् । एक समय ४५ रनमा ४ विकेट गुमाएको सुदूरपश्चिमलाई रत्नायकेले कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखसँग महत्वपूर्ण साझेदारी गर्दै जितसम्म पु¥याए । चितवनका बलर रन्जित कुमारले दुई विकेट लिए भने कमल सिंह ऐरी, रिजन ढकाल, उसामा मिर र सलाउद्दिन खानले समान एक विकेट लिए ।
यसअघि चितवनका लागि डाविड मलानले ५१ बलमा ९ चौका र दुई छक्कासहित अविजित ७१ रन बनाएका थिए । उनले एक छेउ सम्हाल्दै टोलीलाई सम्मानजनक योगफलसम्म पु¥याए पनि अन्य ब्याटरबाट उल्लेखनीय साथ पाउन सकेनन् । सलाउद्दिन खानले १८ र कमल सिंह ऐरीले १० रन बनाए ।
सुदूरपश्चिमका स्कट कुगुलेइनले सर्वाधिक तीन विकेट लिए । थरिन्दु रत्नायकेले दुई विकेट लिँदा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान एक विकेट लिए । यसअघि पहिलो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित भएको सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनल यात्रा तय गरेको हो ।
अब उपाधिका लागि शनिबार सुदूरपश्चिमले साविक विजेता लुम्बिनी लायन्सको सामना गर्नेछ । पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग फाइनलमा पराजित भएको सुदूरपश्चिम यसपटक तेस्रो प्रयासमा उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । अर्कोतर्फ, पहिलो क्वालिफायर जितेर फाइनल पुगेको लुम्बिनी लगातार दोस्रो पटक उपाधि जित्ने दाउमा हुनेछ ।





















