बुटवल । नेपाल औषधि व्यवसायी संघको केन्द्रीय नेतृत्वमा लुम्बिनी प्रदेशबाट पुनः दाबेदारी प्रस्तुत भएको छ। संघको १५औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा लुम्बिनी प्रदेशका रामप्रसाद खरेलले केन्द्रीय अध्यक्ष पदमा उम्मेदवारी दिने आकाङ्क्षा सार्वजनिक गरेका हुन्।
औषधि व्यवसायको क्षेत्रमा लामो समयदेखि सक्रिय खरेलले औषधिको मूल्यमा एकरूपता, व्यवसायीबीच एकता, विपन्न नागरिकलाई औषधिमा सहज पहुँच तथा प्रदेशलाई आर्थिक रूपमा सक्षम बनाउने विषयलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्। उनले व्यवसायीका साझा समस्या समाधान र संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित केन्द्रीय अध्यक्षमा दाबेदारी प्रस्तुत गरेको बताएका छन्।
लुम्बिनी प्रदेशबाट यसअघि पनि संघको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्व भइसकेको पृष्ठभूमिमा खरेलको दाबेदारीलाई यस क्षेत्रको पुनः केन्द्रीय नेतृत्वमा पहुँच विस्तार गर्ने प्रयासका रूपमा हेरिएको छ। औषधि व्यवसायीका समस्या, बजारमा मूल्यको असमानता र व्यवसाय सञ्चालनका चुनौतीलाई राष्ट्रिय तहमा उठाउने विषय उनको दाबेदारीसँग जोडिएको छ।
संघको १५औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर ४ देखि ६ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगरमा हुँदैछ। महाधिवेशनको आयोजकीय जिम्मेवारी नेपाल औषधि व्यवसायी संघ कर्णाली प्रदेश कमिटीले पाएको छ। महाधिवेशन आयोजक समितिका संयोजक तथा कर्णाली प्रदेश अध्यक्ष प्रेम भण्डारीका अनुसार देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षक गरी करिब २५० जना र अतिथि तथा कलाकार गरी ५० जनाको सहभागिता रहनेछ।
महाधिवेशनको कार्यतालिकाअनुसार मंसिर ४ गते उम्मेदवारको मनोनयन दर्ता, ५ गते उद्घाटन तथा बन्दसत्र र ६ गते निर्वाचन कार्यक्रम सञ्चालन हुनेछ। महाधिवेशनबाट तीन वर्षे कार्यकालका लागि २१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरिनेछ।
केन्द्रीय अध्यक्ष पदमा खरेलसँगै गण्डकी प्रदेशका व्यवसायी टंक अधिकारीले पनि आकाङ्क्षा व्यक्त गरेका छन्। १४औँ महाधिवेशनबाट थोकतर्फ केन्द्रीय उपाध्यक्ष बनेका अधिकारीले अध्यक्ष पदमा आफ्नो दाबी स्वाभाविक रहेको बताएका छन्। उनले व्यावसायिक हित र व्यवसायीका पक्षमा आफू निरन्तर सक्रिय रहँदै आएको उल्लेख गरेका छन्।
त्यस्तै, खुद्रातर्फका केन्द्रीय उपाध्यक्ष यमनाथ पौडेलले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन्। गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले केन्द्रीय सचिव पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। गण्डकीबाट महिला केन्द्रीय सदस्यमा कमला भण्डारीको उम्मेदवारी रहने चर्चा पनि छ।
संघका अनुसार औषधि व्यवस्था विभागमा करिब ३४ हजार फर्म दर्ता रहेको तथ्याङ्क भए पनि नेपाल औषधि व्यवसायी संघमा करिब १२ हजार व्यवसायी आबद्ध छन्। तीमध्ये कतिपयले नवीकरण नगरेको वा व्यवसाय बन्द गरेको संघका गण्डकी प्रदेश अध्यक्ष केशरीप्रसाद तिवारीले बताएका छन्।
यसपटकको महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै औषधि व्यवसाय क्षेत्रका साझा समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्दै आगामी कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ। व्यवसायीहरूले नेतृत्वमा पुग्न चाहने आकाङ्क्षीहरूलाई पदको दाबेदारीसँगै व्यवसाय क्षेत्रका चुनौती सामना गर्ने स्पष्ट योजना र प्रतिबद्धता प्रस्तुत गर्नुपर्ने धारणा राख्दै आएका छन्।
महाधिवेशनको सन्दर्भमा कास्की शाखाका पूर्वअध्यक्ष विक्रम पन्तले सामाजिक सञ्जालमार्फत चुनौती, अवसर र भावी कार्यदिशाबारे स्पष्ट हुन नेतृत्वका आकाङ्क्षीहरूलाई आग्रह गरेका छन्। नेपालगञ्जकी अग्रज व्यवसायी सरला विष्टले भने आरक्षणमा महिला सहभागिताको कानुनी आधार र नेतृत्व चयनमा गठबन्धनको अभ्यासबारे आफ्नो धारणा सार्वजनिक गरेकी छन्।





















