बुटवल । रुपन्देहीको तिलोत्तमामा चौथो राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल उद्योग वाणिज्य महासंघ र लुम्बिनी प्रदेश उद्योग वाणिज्य महासंघको संरक्षकत्व, वन, वातावरण तथा पर्यटन मन्त्रालय लुम्बिनी प्रदेशको प्रवद्र्धन तथा तिलोत्तमा नगरपालिका, रुपन्देही चेम्बर अफ कमर्स र तिलोत्तमा उद्योग व्यापार संगठनको सहआयोजना तथा तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर ३ देखि १६ गतेसम्म तिलोत्तमा नगरपालिका–५, मणिग्राममा ‘चौथो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवम् पर्यटन प्रवद्र्धन महोत्सव–२०८३’ सञ्चालन हुन लागेको हो ।
‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी ः दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना हुने मेलामा करिब ३०० स्टल रहनेछन् । औद्योगिक तथा स्थानीय उत्पादनको प्रवद्र्धन, बजार विस्तार र आर्थिक गतिविधि चलायमान बनाउने उद्देश्यले मेला आयोजना गरिएको संघका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले बताए । मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री गरिनेछ । कृषि र पर्यटन प्रवद्र्धनलाई विशेष प्राथमिकता दिइएको मेला १४ दिनसम्म सञ्चालन हुने संघका वरिष्ठ उपाध्यक्ष एवं मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीले जानकारी दिए ।
मेलालाई व्यापार र प्रदर्शनीसँगै मनोरञ्जनको केन्द्र बनाउन विभिन्न आकर्षणसमेत समावेश गरिएको छ। संघका महासचिव एवं मेला प्रवक्ता राजकुमार पाण्डेका अनुसार ८० फिट अग्लो वाटर फल, चरखे पिङ, ३६० डिग्री झुला र जिरो ग्राभिटी झुला मेलाका प्रमुख आकर्षण हुनेछन् ।
त्यस्तै, पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक शैलीमा निर्माण गरिने प्रवेशद्वार, रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यानले पनि दर्शकलाई आकर्षित गर्ने आयोजकको अपेक्षा छ । तिलोत्तमाको पर्यटन प्रवद्र्धनका लागि नगरभित्रका पर्यटकीय गन्तव्यको पहिचान र जानकारी समेटिएको पर्यटन ग्यालरीसमेत राखिनेछ। यसले स्थानीय पर्यटकीय क्षेत्रको प्रचारप्रसार र सम्भावित पर्यटकलाई गन्तव्यबारे जानकारी दिन सहयोग पुग्ने आयोजकको विश्वास छ।
मेला मनोरञ्जन र व्यापारमा मात्र सीमित नराखी उद्यमशीलता, श्रम र वातावरणीय सचेतनासँग जोड्ने कार्यक्रमसमेत तय गरिएको छ। जलवायु परिवर्तन र त्यसका प्रभावबारे जनचेतनामूलक कार्यक्रम, विद्यार्थीलाई उद्यमशीलताप्रति प्रेरित गर्ने गतिविधि तथा सफल उद्यमीका अनुभव र प्रेरणादायी मन्तव्य दैनिक प्रस्तुत गरिनेछ । विभिन्न समसामयिक र व्यावसायिक विषयमा प्यानल छलफलसमेत आयोजना गरिनेछ ।
त्यसैगरी मेलामा श्रम डेस्क स्थापना गरी श्रम अडिट गर्ने कार्यक्रम राखिएको छ। यसबाट उद्योगी, व्यवसायी र श्रमिकबीचको सम्बन्ध तथा श्रमसम्बन्धी विषयमा जानकारी र सहजीकरण हुने अपेक्षा गरिएको छ।
संघका निवर्तमान अध्यक्ष गुणनिधि (माधव) भण्डारीले यसअघि तीनवटा औद्योगिक व्यापार मेला सफलतापूर्वक सम्पन्न गरिसकेको उल्लेख गर्दै चौथो संस्करणलाई पनि सफल बनाउन संघको सम्पूर्ण टिम तयारीमा जुटेको बताए । मेला व्यवस्थित रूपमा सञ्चालन गर्न संघले पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई विभिन्न जिम्मेवारीसमेत बाँडफाँट गरेको छ।





















