काठमाडौं । काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ। शुक्रबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ११८ रनमा समेटियो।
काठमाडौंका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए। ३१ बलको सामना गरेका उनले पाँच चौका प्रहार गरे। दुशन हेमन्थाले १८ बलमा २१ रन जोड्दा साम हेजलेटले ११ र सन्तोष यादवले १० रन बनाए।
सुदूरपश्चिमका बलर अनिल खरेलले दुई विकेट लिए। स्कट कुगेलेइन, हेमन्त धामी र फाबियन एलेनले समान एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो। टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० रनको योगदान दिए।
चार विकेट गुमाएर मात्र ८ रन बनाएको कठिन अवस्थामा क्रिजमा पुगेका दीपेन्द्रले सम्हालिएर ब्याटिङ गर्दै टोलीलाई सम्मानजनक योगफलसम्म पु¥याएका थिए। उनले ५५ बलमा पाँच चौका र दुई छक्काको मद्दतमा ६० रन बनाए। त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २६ तथा आरिफ शेखले १६ रन जोडे।
सुदूरपश्चिमका ओपनर स्कट कुगेलेइन ६ र विनोद भण्डारी १ रनमा आउट भए। ब्रान्डम म्याकमुलेन र इशान पाण्डेले भने खाता खोल्न सकेनन्। काठमाडौंका जहानद खानले तीन तथा सन्तोष यादवले दुई विकेट लिए।
यस जितसँगै सात खेलबाट पाँच जित निकालेको सुदूरपश्चिम १० अंकसहित अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। समान खेलबाट ९ अंक जोडेको लुम्बिनी लायन्स दोस्रो स्थानमा छ। लुम्बिनी यसअघि नै प्लेअफमा पुगिसकेको छ।
६ खेल खेलेको काठमाडौं ८ अंकसहित तेस्रो स्थानमा रहँदा समान खेलबाट ६ अंक जोडेको विराटनगर किङ्स चौथो स्थानमा छ।





















