Spread the love

काठमाडौं । काठमाण्डौमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले जित निकाल्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ । सोमबार भएको खेलमा चितवन राइनोजलाई १० रनले पराजित गर्दै काठमाडौंले शीर्षस्थान कब्जा गरेको हो । काठमाडौंको यो पाँच खेलमा चौथो जित हो ।

जितसँगै ८ अंक जोडेको काठमाडौंले यसअघि जनकपुर बोल्ट्ससँग मात्र हार बेहोरेको थियो । उसले कर्णाली याक्स, विराटनगर किंग्स र लुम्बिनी लायन्सलाई पराजित गरेको थियो । काठमाडौंले दिएको १८१ रनको लक्ष्य पछ्याएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७० रन मात्रै बनाउन सक्यो । लक्ष्य पूरा गर्न नसक्दा चितवन १० रनले पराजित भयो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ५५ रन बनाए । उनले ३५ बलमा २ चौका र ३ छक्का प्रहार गरे । त्यस्तै डान माउस्लीले २९, कमिल मिश्राले २८ र अर्जुन साउदले २३ रनको योगदान दिए ।

प्रतियोगितामा ७ अंक जोडेको लुम्बिनी लायन्स दोस्रो र ६ अंकसहित सुदूरपश्चिम रोयल्स तेस्रो स्थानमा छन् । त्यस्तै चितवन ५ अंकसहित चौथो स्थानमा छ भने जनकपुर बोल्ट्स, विराटनगर किंग्स र कर्णाली याक्सको समान ४ अंक छ । पोखरा एभेन्जर्स भने २ अंकसहित अंक तालिकाको पुछारमा रहेको छ ।

">
Bajaj Grand Exchange Mela