कपिलवस्तु, २० कार्तिक ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वार्ड नम्मर १, ७ र ९ का जग्गाधनीले जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा वडा का २६१ परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र वडा नं ९ का १३९ जनालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ । लामो समयदेखि जग्गा भोगचलन गर्दै आए पनि कानुनी स्वामित्वको प्रमाण नहुँदा विभिन्न समस्या झेल्दै आएका स्थानीयवासी लालपुर्जा पाएपछि खुसी भएका छन् ।
लालपुज वितरण कार्यक्रममा बोल्दै कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजतप्रताप शाहले गाउँब्लक जग्गाधनीलाई लालपुर्जा उपलब्ध गराउने कार्यलाई नगरपालिकाले प्राथमिकतामा राखेको बताए । उनले बाँकी जग्गाको दर्ता प्रक्रिया सम्बन्धित निकायसँग समन्वय गरी छिटो सम्पन्न गर्न पहल गरिने जानकारी दिए ।





















