बुटवल,२० कार्तिक ।
नेपालीको दोस्रो ठूलो पर्व तिहारको अवसरमा बुटवलमा आजदेखि तीनदिने ‘दीपावली सडक खाना महोत्सव’ सुरु हुँदैछ । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका वडा नं. ८ सुख्खानगर स्थित शुक्रपथमा सडक खाना महोत्सव गर्ने संघका महासचिव बसन्तप्रसाद ढकालले जानकारी दिए ।
अपरान्ह ४ देखि राती १० बजेसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा ५० स्टल राखिनेछ । महोत्सवमा स्थानीय, विभिन्न जातजातीका संस्कृतिसंग जोडिएका परम्परागत तथा रैथाने खानाका परिकारसँगै तिहारमा आवश्यक पर्ने खाद्यान्न, फूलमाला तथा अन्य सामग्रीका स्टल राखिने संघले जनाएको छ ।
यसले स्थानीय उत्पादन, परिकार र व्यवसायको प्रवद्र्धनसँगै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । तीनदिनसम्म सञ्चालन गरिने दीपावली सडक खाना महोत्सवमा कला संस्कृतिको संरक्षण गर्नेगरी उदेसी भैलो प्रतियोगिता, लोकल व्याण्ड तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहनेछ । सांस्कृतिक कार्यक्रम अन्तरगत महोत्सवको पहिलो दिन औपचारिक उद्घाटन कार्यक्रम पश्चात देउसी भैलो प्रतियोगिता गरिने छ । त्यस्तै दोस्रो दिन लोकल व्याण्डको प्रस्तुती रहनेछ भने तेस्रो दिन राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने पनि संघले जनाएको छ ।





















