Spread the love

बुटवल, १७ कात्तिक । ‘विश्व लेखा दिवस’ (विश्व एकाउन्टिङ डे) को अवसरमा रुपन्देहीमा सप्ताहव्यापी रचनात्मक तथा सचेतनामूलक कार्यक्रम आयोजना गरिने भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) को सहकार्य तथा आईक्यान बुटवल शाखाको आयोजनामा हुन लागेको कार्यक्रमको मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरी औपचारिक शुभारम्भ गरिएको हो ।

‘लेखा बुझौँ, आर्थिक सुशासन अपनाऔँ, व्यवसाय तथा समाजमा पारदर्शिता प्रवद्र्धन गरौँ, लेखा सचेतनालाई प्रत्येक व्यक्ति, घरपरिवार, व्यवसाय तथा संघसंस्थासम्म पु¥याऔँ’ भन्ने नारासहित अभियान सञ्चालन गर्न लागिएको एफसीए शिवहरि शर्माले जानकारी दिए ।

पत्रकार सम्मेलनमा बोल्ने वक्ताहरूले लेखा र लेखापरीक्षणका विषयमा समाजमा रहेको अन्योलता हटाउन आवश्यक रहेको बताए । उनीहरूले आर्थिक सुशासनबिना सुशासनको परिकल्पना गर्न नसकिने भन्दै राज्यदेखि व्यक्ति, घरपरिवार, उद्योग तथा व्यवसायसम्म सही लेखा प्रणालीको अभ्यास हुनुपर्नेमा जोड दिए ।
राज्य सञ्चालनका क्रममा व्यवहार र कानुनबीच द्वन्द्व देखिने गरेको उल्लेख गर्दै वक्ताहरूले आर्थिक तथा राजनीतिक समस्याको समाधानका लागि पारदर्शी र जवाफदेही प्रणाली आवश्यक रहेको बताए । सही सूचना प्राप्त गर्न सही लेखा प्रणाली आवश्यक हुने उनीहरूको भनाइ थियो ।

कार्यक्रममा एक्यान लुम्बिनीका अध्यक्ष शंकर ज्ञवालीले लेखा र लेखापरीक्षण फरक विषय भएको स्पष्ट पार्दै व्यवसायीबाट आफ्नो आर्थिक कारोबारको लेखा राख्ने र लेखापरीक्षण चार्टर्ड एकाउन्टेन्टमार्फत हुने बताए ।

कार्यक्रममा अडान लुम्बिनी प्रदेश अध्यक्ष टुकराज पाण्डे, एक्यान रुपन्देहीका सभापति अच्युत पाण्डे, रजिस्ट्रार नेत्र ज्ञवाली, वरिष्ठ अडिटर डीआर शर्मा वाग्ले तथा आईक्यान बुटवल शाखाका संयोजक प्रमोद पन्थी, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले लेखा प्रणालीको महत्व, आर्थिक पारदर्शिता र वित्तीय अनुशासनबारे आम नागरिकमा सचेतना अभिवृद्धि गर्ने गरि अभियान चलाउनुपर्नेमा जोड दिए ।

कार्यक्रमका सञ्चालक कमल ज्ञवालीका अनुसार चार्टर्ड एकाउन्टेन्टहरूको हकहित तथा व्यावसायिक विकासका लागि स्थापित एक्यानमा देशभर करिब ३ हजार ५०० सदस्य तथा अडानमा करिब ८ हजार सदस्य आबद्ध रहेका छन ।

">
Bajaj Grand Exchange Mela