Spread the love

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ अन्तर्गत सोमबार सम्पन्न खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सले जित हात पारेका छन् । काठमाडौंले कर्णाली याक्सलाई चार विकेटले पराजित गर्दा सुदूरपश्चिमले चितवन राइनोजमाथि पाँच विकेटको जित निकालेको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो खेलमा कर्णाली याक्सले दिएको १८१ रनको लक्ष्य काठमाडौंले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । काठमाडौंको जितमा राशिद खानले सर्वाधिक ५० रन बनाए । कप्तान करण केसीले ४४ रनको योगदान दिए । जहान्दाद खानले २२, आदिल आलमले २० र डेभिड वार्नरले १६ रन बनाए । कर्णालीका बलर सोमपाल कामी र हुसेन तलतले दुई–दुई विकेट लिए भने मार्क वाट र नन्दन यादवले एक–एक विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनाएको थियो। कर्णालीका अरिफुल इस्लामले ४४, हुसेन तलतले ४०, पवन सर्राफले ३०, गुलशन झाले २० र मार्क वाटले १७ रन बनाए । काठमाडौंका करण केसीले दुई विकेट लिए । शहाब आलम, जहान्दाद खान, देव शाह र सन्तोष यादवले एक–एक विकेट लिए । यो जितसँगै काठमाडौंले प्रतियोगिताको दोस्रो खेलमा पहिलो जित दर्ता गरेको छ । तीन खेल खेलेको कर्णालीले भने पहिलो हार बेहोरेको छ ।

सोमबार नै सम्पन्न दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको छ । चितवनले दिएको १३० रनको लक्ष्य सुदूरपश्चिमले १६.४ ओभरमा पाँच विकेट गुमाएर पूरा ग¥यो । सुदूरपश्चिमले २० बल बाँकी छँदै लक्ष्य भेट्टाएको हो । सुदूरपश्चिमको जितमा ब्रान्डन म्याकमुलेनले ४३ रन बनाए । इशान पाण्डेले २५ रनको योगदान दिए भने आरिफ शेखले अविजित २० र शेरफेन रदरफोर्डले अविजित २१ रन बनाए । चितवनका बलर रञ्जित कुमारले तीन विकेट लिए भने रिजन ढकाल र मौसम ढकालले एक–एक विकेट हात पारे ।

यसअघि पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनाएको थियो। चितवनका रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । विवेक यादवले १७, डेविड मलानले १६ र सिकन्दर राजाले १५ रन जोडे । सुदूरपश्चिमका स्कट कुग्लाइनले दुई विकेट लिए भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले एक–एक विकेट लिए । यस जितसँगै सुदूरपश्चिमले चार खेलमा दोस्रो जित निकालेको छ। लगातारको हारपछि टोलीले पुनरागमन गरेको छ भने चितवनले प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।

एनपीएल सिजन–३ अन्तर्गत मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्स भिड्नेछन् भने दोस्रो खेलमा साविक विजेता लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

 

">
Bajaj Grand Exchange Mela