बुटवल । पछिल्लो समय स्वस्थ जीवनशैलीप्रति मानिसहरूको चासो बढ्दै गएको छ । व्यस्त दैनिकी, खानपान र शारीरिक निष्क्रियताका कारण देखिने विभिन्न स्वास्थ्य समस्याबाट बच्न धेरै मानिस योग तथा ध्यानतर्फ आकर्षित हुन थालेका छन् । बुटवलमा पनि नियमित योग अभ्यास गर्नेहरूको संख्या बढ्दै गएको छ । बुटवल–११ देवीनगरकी माया ढकाल यसको एक उदाहरण हुन् । उनी हरेक दिन वाणिज्य क्याम्पस देवीनगरको प्रांगणमा सञ्चालन हुने निःशुल्क योग साधना कार्यक्रममा सहभागी हुन्छिन् । नियमित योग गर्न थालेपछि शरीरको दुखाइ कम भएको र शरीर हलुका तथा सहज महसुस हुन थालेको उनको अनुभव छ ।
बुटवल–११ कै कमला अधिकारी पनि विगत एक वर्षदेखि नियमित योग अभ्यास गर्दै आएकी छिन् । योगमा सहभागी हुन थालेपछि आफ्नो स्वास्थ्य र दैनिक जीवनशैलीमा सकारात्मक परिवर्तन आएको उनको अनुभव छ । चिकित्सकको सल्लाह अनुसार उनको सुगर र थाइराइडसम्बन्धी औषधिको मात्रा घटेको उनले बताइन् । विभिन्न प्रकारका योगासन, शारीरिक अभ्यास र नृत्यसहितको गतिविधिले शरीर फुर्तिलो बनाउनुका साथै दिनभर सक्रिय रहन सहयोग पुगेको उनको भनाइ छ ।
योगले शरीरलाई मात्र नभई मानसिक रूपमा पनि स्वस्थ रहन सहयोग गर्ने सहभागीहरूको अनुभव छ । नियमित योग अभ्यासले शारीरिक सक्रियता बढाउने, तनाव व्यवस्थापनमा सहयोग गर्ने र दैनिक जीवनलाई अनुशासित बनाउन प्रेरित गर्ने उनीहरू बताउँछन् ।
कोरोना महामारीको समयमा चिकित्सकको सल्लाहपछि योग अभ्यास सुरु गरेकी विष्णु माया श्रेष्ठले अहिले यसलाई अभियानकै रूपमा अघि बढाएकी छन् । उनले निःशुल्क योग साधनाको सुरुवात गर्दै रुपन्देहीका विभिन्न स्थानमा योग कक्षा सञ्चालन गर्दै आएकी छिन् । हाल बुटवलका ९ वटा स्थानमा निःशुल्क योग साधना सञ्चालन भइरहेको देविनगरका संयोजक विष्णु उपाध्यायले बताए । ती कार्यक्रममा दुई हजारभन्दा बढी व्यक्ति सहभागी छन् । पैसा खर्च गरेर उपचार गर्नुभन्दा नियमित व्यायाम, सन्तुलित खानपान र स्वस्थ जीवनशैली अपनाउनु आवश्यक रहेको उपाध्याय बताउछन । योग साधनासंगै सहभागीहरु विभिन्न सामाजिक कार्यमा समेत अग्रसर छन ।
यसैबिच सोमबार परम्परागत पंचेबाजा संरक्षणमा जोड दिदै तिनाउ पन्चे बाजा समुह, ड्राईभरटोलको सहयोगमा नृत्य साधनामा जोड्ने गरि कार्यक्रम गरिएको ब्यवस्थापक पदम जिसीले बताए । बुटवलमा सञ्चालित निःशुल्क योग साधना अभियानले स्थानीयलाई स्वस्थ जीवनशैलीतर्फ प्रेरित गरिरहेको छ । समुदायका सबै उमेर समूहलाई योगसँग जोड्न सके स्वस्थ र सक्रिय समाज निर्माणमा यस्ता अभियान प्रभावकारी बन्न सक्छन् ।



















