रुपन्देही । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सेनाको ब्याटल स्कुलमा सुरु भएको छ । मंसिर ९ गतेदेखि सुरु भएको उक्त अभ्यासको शुभारम्भ मध्यपश्चिम पृतना हेडक्वार्टरका पृतनापति उपरथी पूर्णबहादुर खत्रीले गरेका हुन् ।

नेपाली सेना र भारतीय सेनाका गणस्तरका फौज सहभागी हुने उक्त संयुक्त सैन्य अभ्यास मंसिर २२ गतेसम्म सञ्चालन हुनेछ । वि.सं. २०६७ सालदेखि नेपाल र भारतमा पालैपालो वार्षिक रूपमा सञ्चालन हुँदै आएको यस अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा सम्पन्न भएको थियो ।

अभ्यासका क्रममा मुख्यतः विपद् व्यवस्थापन, जङ्गल युद्धकला तथा मानवीय सहयोगलगायतका विषयमा दुवै देशका सैनिकहरूले सैद्धान्तिक, व्यावहारिक र विशेष अनुभवहरू आदानप्रदान गर्नेछन् ।

यस्ता संयुक्त सैन्य अभ्यासले नेपाल र भारतबीच रहँदै आएको मैत्रीपूर्ण तथा पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै देशका सेनाको व्यावसायिक क्षमता विकास र आपसी समझदारी अभिवृद्धिमा सहयोग पुग्ने नेपाली सेनाले विश्वास लिएको छ ।

संयुक्त सैन्य अभ्यासले दुवै देशका सैनिकबीच सहकार्य, अनुभव आदानप्रदान र विपद्का समयमा संयुक्त रूपमा काम गर्ने क्षमता विकासमा समेत महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

">
Bajaj Grand Exchange Mela