काठमाडौं,९ मंसिर ।

सडक दुर्घटना तथा विपद्का घाइतेलाई प्रदेशस्तरमै सहज र गुणस्तरीय उपचार सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले सातै प्रदेशमा प्रादेशिक ट्रमा सेन्टर स्थापना गर्ने नीति लिएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले राष्ट्रिय ट्रमा सेन्टरको १३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले सो कुराको जानकारी गराएकी हुन् ।

मन्त्री मेहताका अनुसार प्रादेशिक ट्रमा सेन्टरमा आवश्यक उपकरण, दक्ष जनशक्ति, बहुविषयगत चिकित्सक टोली र प्रभावकारी व्यवस्थापनको व्यवस्था गरिनेछ । यसबाट सामान्य तथा मध्यम प्रकृतिका चोटपटकको उपचार प्रदेशस्तरमै सम्भव हुने र बिरामीको रिफरल प्रणाली व्यवस्थित हुनेछ । उनले दुर्घटनापछिको उपचारमा अस्पतालपूर्वको आकस्मिक सेवालाई प्रभावकारी बनाउन सरकारले एम्बुलेन्स सेवा निर्देशिका, २०८२ लागू गरिसकेको जानकारी दिईन् ।

देशभर एउटै आकस्मिक नम्बर १०२ मार्फत सेवा प्रवाह गर्न संघीय तथा सातै प्रदेशका स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रलाई २४ सै घण्टा क्रियाशील बनाइएको उनले बताईन् । एम्बुलेन्सलाई सामान्य यातायातको साधनबाट आकस्मिक उपचार सेवासहितको साधनका रूपमा विकास गर्ने सरकारको नीति रहेको मन्त्री मेहताको भनाइ छ । उनले ट्रमा उपचारलाई शल्यक्रिया र औषधिमा मात्र सीमित नगरी शारीरिक पुनःस्थापना तथा मनोसामाजिक परामर्श सेवालाई समेत संस्थागत गर्नुपर्नेमा जोड दिईन् ।

दुर्घटनापछि देखिन सक्ने शारीरिक अपाङ्गता तथा मानसिक समस्यालाई सम्बोधन गर्न पुनःस्थापना सेवाको विस्तार गर्ने सरकारको नीति रहेको उनले बताईन् । राष्ट्रिय ट्रमा सेन्टरको सेवा विस्तार र संस्थागत सुदृढीकरणमा मन्त्रालय सकारात्मक रहेको उल्लेख गर्दै मन्त्री मेहताले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृति र दरबन्दी व्यवस्थापनका विषयलाई छिट्टै निष्कर्षमा पु¥याइने बताईन् ।

">
Bajaj Grand Exchange Mela