बुटवल, ९ मंसिर ।
लैङ्गिक हिंसाविरुद्ध जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आजदेखि देशभर लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएको छ । प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म सञ्चालन हुने यो अभियान नेपालमा यस वर्ष मंसिर ९ देखि २४ गतेसम्म मनाइँदैछ ।
महिला तथा बालिकामाथि हुने हिंसा, विभेद, शोषण र दुव्र्यवहार अन्त्य गर्दै समानता, सम्मान र सुरक्षित समाज निर्माण गर्ने उद्देश्यले अभियान सञ्चालन हुँदै आएको छ । यस वर्षको अन्तर्राष्ट्रिय नार्रा महिला तथा बालिकाविरुद्ध हुने हिंसा अन्त्यका लागि एकजुट हुँदै न्याय सुनिश्चित गर्ने, पीडितको संरक्षण गर्ने र दण्डहीनताको अन्त्य गर्ने भन्ने रहेको छ । त्यसैगरी, नेपालमा यस वर्षको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता’ तय गरिएको छ ।
अभियानका क्रममा घरेलु हिंसा, यौनजन्य हिंसा, बालविवाह, दाइजो प्रथा, मानव बेचबिखन, कार्यस्थलमा हुने दुव्र्यवहार तथा प्रविधिको दुरुपयोगबाट हुने हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ । लैङ्गिक हिंसा अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त नहुने भन्दै परिवार, समुदाय, स्थानीय तह, सरकारी निकाय तथा नागरिक समाज सबैको सक्रिय सहभागिता आवश्यक रहेको सरोकारवालाहरूले बताउँदै आएका छन् ।





















