भैरहवा, १ जेठ ।
नेपालको अग्रणी पूर्ण भिट्रिफाईड टायल ब्राण्ड लामिनारले भैरहवामा नयाँ एम्पोरियो डिलर शोरुम सञ्चालनमा ल्याएको छ । जेजे स्टोनेक्स प्रा.लि.को सहकार्यमा भैरहवामा शुक्रबार लामिनारले शोरुम सञ्चालनमा ल्याएको हो ।
शोरुम उद्घाटन गर्दै लुम्बिनी प्रदेशका युवा तथा खेलकुद मन्त्री सन्तोष कुमार पाण्डेयले स्वदेशी उत्पादन लामिनार अन्तर्राष्ट्रिय मापदण्डको टायलका रुपमा बजारमा चिनिएको बताए । स्वदेशमा नै पौरख गर्दै देशलाई आत्मनिर्भर बनाउने बाटोमा नया पुस्ताहरु अग्रसर रहनु सकारात्मक भएको भन्दै व्यवसायलाई सफल बनाउनको लागि आवश्यक समन्वयन गर्ने समेत बताए ।
कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणित लामिनार टायल भैरहवामा आउनु खुसीको कुरा भएको बताएका छन् ।
कार्यक्रममा जे जे स्टोनेक्स प्रा.लि.का निर्देशक देव कुमार अग्रवालले ग्राहकहरु टायल किन्दा डिजाइन मात्र नभई टिकाउमा पनि ध्यान दिने गरेको अनुभव सुनाए । यो शोरुमबाट ग्राहकहरु सबै किसिमको सुविधा पाउने उनले बताए । प्रिमियम टायलका लागि ठूला शहरमा निर्भर रहनुपर्ने बाध्यता अन्त्य गर्दै लामिनारले स्थानीय तहमा नै गुणस्तरिया टायलको बिक्रीवितरण सुरु गरेको उनको दाबी छ ।
बर्दियास्थित कारखानामा उत्पादन भएका लमिनारका टायल नेपाल मानक (एनएस ६१७, पूर्ण भिट्रिफाईड टायल) छ । यो टायलको विशेषताका रुपमा कम पानी सोस्ने र बलियो हुने भएकाले घर, होटल, कार्यालय तथा विभिन्न व्यावसायिक र सार्वजनिक प्रयोगका ठाउँमा प्रयोग गर्न मिल्ने कम्पनीले जनाएको छ । फुलबडी (सेन्टो), एन्टिब्याक्टेरियल सतह र उच्च चमक भएका हाई–ग्लस टायल पाइन्छन्।
भैरहवाको यस शोरुममा लमिनारका ५०० भन्दा बढी डिजाइनका टायल उपलब्ध छन् । शोरुमलाई घरधनी, ठेकेदार, आर्किटेक्ट र संस्थागत ग्राहकलाई लक्षित गरेर बनाइएको हो। यहाँ टायल छनोट गर्दा कुन प्रयोजनको लागि कस्तो टायल छनोट गर्ने भन्ने कुरालाई पनि प्राथमिकता दिइएको छ ।
लमिनारले देशभर एम्पोरियो शोरुम सञ्जाल विस्तार गर्दै टायललाई प्रयोगअनुसार बुझ्ने र छनोट गर्ने प्रक्रियालाई थप व्यवस्थित बनाउँदै लैजाने कम्पनीको लक्ष्य रहेको लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालले बताए । कम्पनीले १६० भन्दा बढी शोरुम विस्तार गर्ने लक्ष्य राखेको छ ।





















