बुटवल, १७ कार्तिक ।
नेपाली कला, संस्कृति, स्थानीय खानपान र सामाजिक सद्भाव प्रवद्र्धन गर्ने उद्देश्यले बुटवलमा ‘बृहत् शुभ दीपावली साँझ तथा फुड फेस्टिबल–२०८३’ आयोजना गरिने भएको छ । ह्याप्पी क्लब बुटवल र रुपन्देही इभेन्ट्स व्यवसायी संघको संयुक्त आयोजनामा आगामी कार्तिक २३ गते सोमबार बुटवल–३, गोलपार्कमा कार्यक्रम हुने भएको हो । विगतका वर्षको निरन्तरतामात्र नभई यसपटक फरक ढंगबाट कार्यक्रम गर्न लागेको रुपन्देही इभेन्ट्स व्यवसायी संघका अध्यक्ष किरण श्रेष्ठले बताए ।
बुटवल उपमहानगरपालिका वडा नं.३ का अध्यक्ष विष्णु ढकालले रुपन्देहीकै समग्र पर्यटन प्रवद्र्धन हुने गरि आयोजना गरिने कार्यक्रममा सबैको साथ र सहयोग जरुरी रहेको बताए । यसैबिच मंगलबार दीपावली साँझ तथा फुड फेस्टिबल पूर्वसन्ध्यामा वृहत प्रचारात्मक बग्गी, भिन्टेज कार, डिजे, पंचेबाजा सहितको रयाली निकालिएको छ । गोलपार्कबाट निस्किएको रयाली ट्राफिक चोक, योगीकुटी हुदै कालिका पथ, बसपार्क हुदै पुनः गोलपार्कमा पुगेर समापन भएको थियो ।
दीपावली साझमा हुने सास्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार बसन्त लम्साल, सिता राना, बाल कलाकार अर्मान श्रेष्ठको प्रस्तुति रहने कार्यक्रम संयोजक मच्छिन्द्र श्रेष्ठले बताए । यसैगरि विभिन्न जातजाती र स्थानियहरुबाट खानाका परिकारहरुको स्टलहरु समेत राखिने भएको छ । कार्यक्रम सम्पन्न गर्न करीब १५ लाख खर्च हुने अनुमान रहेको छ ।
भिडियो रिर्पोट
















