काठमाडौँ । सरकारले लुम्बिनी विकास कोषको सदस्य सचिवमा इन्जिनियर सन्तोष पाण्डेलाई नियुक्त गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विज्ञप्ति जारी गर्दै पाण्डेलाई सदस्य सचिवको जिम्मेवारी दिने निर्णय भएको जनाएको हो । लुम्बिनी क्षेत्रको समग्र विकास, पूर्वाधार निर्माण तथा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित पाण्डेलाई उक्त जिम्मेवारी दिइएको मन्त्रालयले जनाएको छ ।
संरचनागत इन्जिनियरिङ क्षेत्रमा एक दशकभन्दा बढी अनुभव हासिल गरेका पाण्डे सहरी पूर्वाधार विकास, भवनको संरचनागत सुरक्षा, भवन संहिता कार्यान्वयन तथा सार्वजनिक पूर्वाधारको प्राविधिक मूल्याङ्कनमा संलग्न रहँदै आएका छन् ।
पाण्डेले सन् २०२२ सेप्टेम्बरदेखि २०२६ जनवरीसम्म काठमाडौँ महानगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए ।
महानगरपालिकामा रहँदा उनले भवनहरूको संरचनागत सुरक्षा परीक्षण, अग्ला भवनहरूको प्राविधिक मूल्याङ्कन, भवन नक्साको समीक्षा तथा नेपाल राष्ट्रिय भवन संहिताअनुसार मापदण्ड कार्यान्वयनको क्षेत्रमा काम गरेका थिए । त्यसअघि सन् २०२० देखि २०२२ सम्म रुपन्देहीको तिलोत्तमा नगरपालिकामा संरचनागत इन्जिनियरका रूपमा कार्यरत रहेका पाण्डेले भवन निर्माणसम्बन्धी प्राविधिक मापदण्ड परीक्षण, इलेक्ट्रोनिक बिल्डिङ परमिट प्रणालीको सुधार तथा स्थानीय तहका प्राविधिक कर्मचारी र परामर्शदातालाई तालिम प्रदान गर्ने काम गरेका थिए ।
यसैगरी, उनले सन् २०१७ देखि २०१९ सम्म बुटवल उपमहानगरपालिकामा पनि संरचनागत इन्जिनियरका रूपमा काम गरेका थिए । उक्त अवधिमा भवनको संरचनागत डिजाइन परीक्षण, सार्वजनिक पूर्वाधारको प्राविधिक निरीक्षण तथा भवन निर्माणसम्बन्धी राष्ट्रिय मापदण्ड कार्यान्वयनमा उनको संलग्नता रहेको थियो ।
विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनीको संरक्षण, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा व्यवस्थापन कोषका महत्वपूर्ण जिम्मेवारी हुन् । नयाँ सदस्य सचिवका रूपमा पाण्डेसमक्ष लुम्बिनी क्षेत्रको योजनाबद्ध विकास, निर्माणाधीन पूर्वाधारको प्रभावकारी कार्यान्वयन र सम्पदाको संरक्षणबीच सन्तुलन कायम गर्ने चुनौती रहनेछ ।
















