काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको अर्को रोमाञ्चक खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ट्सलाई २ रनले हराएको छ ।
पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा ग¥यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेल र निरोसन डिक्वेलाले उत्कृष्ट ब्याटिङ गरे । रोहितले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतमा अविजित ४७ रन बनाए । डिक्वेलाले २६ बलमा २ चौका र १ छक्कासहित अविजित २७ रन जोडे । यी दुईले तेस्रो विकेटका लागि अविजित ५० रनको साझेदारी गर्दै टोलीलाई सहज जित दिलाए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो ।
पोखराका लागि चामिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । किरण ठगुन्नाले १२, महेदी हसनले १३ तथा कप्तान कुशल भुर्तेलले १४ रन जोडे । लुम्बिनीका रुबेन ट्रम्पलम्यानले १६ रन खर्चेर ३ विकेट लिए । तिलक भण्डारीले २ तथा शेर मल्ल, अभिषेक गौतम र रोहित पौडेलले समान १ विकेट लिए । यस जितसँगै तीन खेलबाट ५ अंक जोडेको लुम्बिनी शीर्ष स्थानमा पुगेको छ । पोखरा भने लगातार तेस्रो हार बेहोर्दै अंकविहीन अवस्थामा तालिकाको पुछारमा रहेको छ ।
मंगलबारकै पहिलो खेलमा विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७२ रन मात्रै बनाउन सक्यो । अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा जनकपुर जितनजिक पुगेर पनि लक्ष्य भेट्टाउन असफल भयो । विराटनगरको जितमा आन्द्रे रसेल नायक बने । उनले ब्याटिङमा अविजित अर्धशतक बनाउनुका साथै बलिङमा ४ विकेट लिए ।
जनकपुरका सैफ हसनले उत्कृष्ट ब्याटिङ गर्दै सर्वाधिक ७१ रन बनाए । उनले ४८ बलमा २ चौका र ५ छक्का प्रहार गरे । विशाल सुश्लिङले ३० बलमा २ चौका र ३ छक्कासहित ४३ रन जोडे । त्यस्तै जिम्मी निसमले २७ रन बनाए भने अभिषेक तिवारी ५ रनमा अविजित रहे ।
विराटनगरका रसेलले ४ ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । एन्जेलो म्याथ्युजले ३ ओभरमा २५ रन दिँदै २ विकेट हात पारे । यस जितसँगै विराटनगरले लगातार दोस्रो जित दर्ता गरेको छ । यसअघि उसले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको थियो ।
















