बुटवल, १४ चैत । नेपालमा पशु स्वास्थ्य, प्रविधि र अनुसन्धानको समन्वित विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ लुम्बिनीमा राष्ट्रिय भेटेरिनरी कन्भेन्स हुने भएको छ। नेपाल भेटेरिनरी एसोसिएसन को आयोजना तथा लुम्बिनी प्रदेशको समन्वयमा चैत २७ र २८ गते तिलोत्तमा स्थित ड्रिमल्याण्ड रिसोर्ट मा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन हुने भएको हो।
शनिबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष केदार सुवेदी ले पेशागत हकहितसँगै सरकारबाट बन्ने नीतिगत कार्यमा सहयोग गर्ने बताए । उनले विद्यार्थीहरूको क्षमता विकासलाई प्रोत्साहन गर्न स्टुडेन्ट पोस्टर प्रतियोगिता गरिने र उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत तथा प्रमाणपत्र प्रदान गरिने जानकारी दिए।
सम्मेलनमा पशु स्वास्थ्य क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान पु¥याएका अनुभवी पशु चिकित्सकहरूलाई विशेष सम्मान तथा राष्ट्रियस्तरका विभिन्न पुरस्कार प्रदान गरिने पनि उनले बताए। सम्मेलन परिसरमा विविध प्रदर्शनी स्टलहरू राखिने व्यवस्था गरिएको छ, जहाँ पशु स्वास्थ्य, औषधि, खोप, आहार तथा आधुनिक प्रविधिहरूसम्बन्धी नवीनतम जानकारी सहभागीहरूलाई प्रदान गरिनेछ।
कार्यक्रममा निवर्तमान अध्यक्ष रामकृष्ण खतिवडाले नेपाल पशुपालन र पशुजन्य उत्पादनमा आत्मनिर्भर उन्मुख हुँदै गएको बताए। प्राविधिक संयोजक हिमाल लुईटेलले देशको जीडीपीमा कृषिको २५ प्रतिशत योगदान रहेको उल्लेख गर्दै त्यसमा पनि पशुधन क्षेत्रको महत्वपूर्ण योगदान रहेको दाबी गरे ।यसैबीच, नेपालभरका भेटेरिनरियनहरूको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता समेत आयोजना गरिनेछ । विभिन्न देशमा रहेका नेपाली पशु चिकित्सकहरूको सहभागिता रहने सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र प्रस्तुत हुनेछन् ।





















